तपाईँ सुन्दै हुनुहुन्छः

बजार खोज्दै बाजुराका स्याउ

बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ बजारको खोजीमा धनगढी पुर्‍याउन थालेका छन्। जिल्लाका स्वामीकार्तिक खापर, बूढीनन्दा, हिमाली र जगन्नाथ गाउँपालिकाका किसानले उत्पादन गरेको स्याउ बिक्रीका लागि धनगढी पुर्‍याइएको हो।

स्वामीकार्तिक खापर गाउँपालिकाका किसान दानबहादुर रावलसहित चार जना किसानले बारीबाट टिपेको एक ट्रक स्याउ तीन दिन लगाएर धनगढी पुर्‍याएका छन्। तर, धनगढी पुगेपछि पनि स्याउ बिक्री हुने हो कि होइन भन्ने चिन्ता रहेको किसान रावलले बताउनुभयो।

कोल्टी–मार्तडी सडक बन्द भएकाले कर्णाली प्रदेशको बाटो हुँदै स्याउ धनगढी ल्याउनुपरेको उहाँले बताउनुभयो। बारीबाट सडकसम्म स्याउ मानिसले बोकेर, खच्चड र ट्याक्टरमार्फत पिलुचौरसम्म पुर्‍याइएको थियो। त्यसपछि महँगो भाडा तिरेर धनगढीसम्म स्याउ ल्याइएको किसान रावलले बताउनुभयो।

स्वामीकार्तिकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री भइरहेको स्याउ धनगढीमा प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री शुरु गरिएको छ। बजारमा सोही प्रकारको स्याउको खुद्रा मूल्य भने प्रतिकिलो ३ सय रुपैयाँसम्म रहेको छ।

किसान रावलले सस्तो मूल्यमा उपभोक्तालाई स्याउ उपलब्ध गराउने उद्देश्यले मूल्य निर्धारण गरिएको बताउनुभयो। पहिलो चरणमा ६ सय ७० कार्टुन स्याउ धनगढी पुर्‍याइएको छ भने थप दुई ट्रक स्याउ धनगढी ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।

बाजुरामा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा किसानले समयमै बजार पाउन नसकेको दुखेसो पोखेका छन्। सडकको सहज पहुँच नहुँदा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन किसानले अतिरिक्त ढुवानी खर्चसमेत व्यहोर्नुपरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button