गिडिदह बाक्लो हिमपात : भेडा चराउन गएका ६ जना सम्पर्कविहीन
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा अचानक बाक्लो हिमपात भएपछि भेडा चराउन गएका ६ जना भेडी गोठाला सम्पर्कविहीन भएका छन्।
उच्च पहाडी क्षेत्रमा बिहीबारदेखि वर्षासँगै निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन्। हिमपात बढ्दै गएपछि गिडिदह आसपासका पाटन क्षेत्रमा चिसो अत्यधिक बढ्नुका साथै मौसम प्रतिकूल बनेको छ। सोही क्षेत्रमा भेडा चराउन पुगेका ६ जना भेडी गोठालाहरू बिहीबार रातिदेखि परिवारको सम्पर्कमा आएका छैनन्।
स्थानीयका अनुसार सम्पर्कविहीन हुनेमा चन्दननाथ नगरपालिका–८ का लालबहादुर रावत, सुरत बहादुर रावतलगायत ६ जना भेडी गोठाला रहेका छन्। उनीहरू गिडिदह आसपासको गैरीगुम पाटन क्षेत्रमा भेडा चराउन पुगेका थिए। उद्धारका लागि गरिएको अपिलमा हरिबहादुर रावल, सुर रावल, दानबहादुर रोकाया, बिर्ख धरला र अबिराज बोहोरालगायत भेडी गोठालाको समेत खोजी गर्न आग्रह गरिएको छ।
पानसय पाटनअन्तर्गत पर्ने ढांग्रे, ऐरीझाल, गैरीगुम, दुधवाडी र डण्डमाकाँधलगायतका क्षेत्रमा समेत बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन्। लगातारको हिमपातका कारण उक्त क्षेत्रमा आवतजावतसमेत कठिन बनेको जनाइएको छ।
सम्पर्कविहीन भएका भेडी गोठालाको अवस्था पत्ता लगाउन स्थानीय स्तरबाट खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लाले समेत जानकारी सङ्कलन गरिरहेको जनाएको छ।
प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा भने समस्या भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्