बेनी–जोमसोम–कोरला सडक खण्डमा चार दिन रात्रिकालीन यातायात बन्द
मुस्ताङ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिन वर्षा र हिमपातको पूर्व सूचनालाई मध्यनजर गरी त्यस क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ । उहाँका अनुसार वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेकाले सडक अवरुद्ध हुनसक्ने भएकाले सुरक्षित यात्राका लागि रात्रिकालीन समयमा यातायात सञ्चालन नगर्ने निर्णय भएको हो ।








प्रतिक्रिया राख्नुहोस्