तपाईँ सुन्दै हुनुहुन्छः

११ जनामा कोरोना पुष्टि भएपछि तनहुँको बन्दिपुरमा गाउँपालिका पुर्ण बन्द

 तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी, एक जना प्रहरी सहित ११ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाको आपतकालिन बैठक बसि सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पुर्णसिंह थापाले बताउनुभयो ।

बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर एक हप्ताका लागि पुर्ण बन्द गर्ने निर्णय गरेको छ । साथै गाउँपालिका अन्र्तगतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा बन्दिपुर गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समुहका ९ जना पुरुष र ३५ वर्षीय १ महिलामा संक्रमण पुष्टि भएको जनाएको छ भने गाउँपालिकाले ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

गाउँपालिकाका अनुसार क्वरेन्टाइनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सक सहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेटाइनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दीपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, सबै गाउँपालिका बासिलाई उच्च मनोवलका साथ भौतिक दुरी कायम गरी आफु र समुदायलई सुरक्षित रहन अध्यक्ष थापाले अनुरोध गर्नुभएको छ ।
यस्तै, तनहुँमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button