कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

बागमती । जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ ।
बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ ।
निरन्तरको बर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा रहेको जानकारी दिँदै उहाँले आज एक हजार ५२२।२५ मिटरमा जलसतह रहेको बताउनुभयो ।
कार्यालयका तर्फबाट जलसतह एक हजार ५२७ मिटर भएका अवस्थामा पहिलो चेतावनीयुक्त साइरन बजाइने उहाँले जानकारी दिनुभयो ।
जलसतह एक हजार ५२८ पुगेका अवस्थामा दोस्रो चेतावनीसहित केही लामो साइरन बज्ने जानकारी दिँदै उहाँले त्यसभन्दा माथि जल सतह भएका अवस्थामा निरन्तर लामो समयसम्म साइरन बजाइने जानकारी दिनुभयो । साइरनको सङ्केतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
सम्भाव्य बाढीको जोखिमीलाई दृष्टिगत गरी बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले जलाशय क्षेत्रको स्थलगत रुपमा अवलोकन गर्दै सरोकारवालासँग छलफलसमेत गरेको थियो ।
भारी वर्षाको प्रक्षेपण भएका अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ । मकवानपुरको हेटौँडा र आसपासमा बिहानदेखि निरन्तर पानी परिरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्