जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मोरङ र सुनसरी प्रशासनको आग्रह
विराटनगर । भारी वर्षाको सम्भावना रहेको भन्दै मोरङ र सुनसरी प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरे अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, बहाव र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
अति आवश्यक अवस्था बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाका बारेमा जानकारी लिन तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको छ ।
पशु चौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न र नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्व सूचना तथा चेतावनीका बारेमा नियमित जानकारी लिन प्रशासनले आग्रह गरेको छ ।
सुनसरी प्रशासनले पनि भारी वर्षाका कारण बाढी, पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोला किनार र अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई समेत आवश्यक पूर्व तयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका छ । बुधवार बेलुकादेखि मोरङ तथा सुनसरी जिल्लामा निरन्तर वर्षा भइरहेको छ । सामान्य अवस्थामा भइरहेको वर्षाले अहिलेसम्म कुनै प्रकारको क्षति भने पुर्याएको छैन ।
भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आजदेखि मोरङ जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ ।
भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मोरङ जिल्लाका १७ वटै स्थानीय तहले आवश्यक परे जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण लागि विभिन्न विद्यालय तथा सामुदायिक भवनमा आश्रय स्थलका लागि तयारी अवस्थामा राखेको छ । विराटनगर महानगरपालिकाले ४३ स्थानमा सुरक्षित आश्रय स्थल तयारी अवस्थामा राखेको जनाएको छ ।
यसैगरी भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न साधान स्रोतसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको मोरङ प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्