तपाईँ सुन्दै हुनुहुन्छः

कटारी–घुर्मी सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द

उदयपुर । लगातारको वर्षासँगै सडकमा जोखिम बढ्ने भएपछि उदयपुरको कटारी–घुर्मी तथा साउने–रुवा सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ८ गतेदेखि असोज ११ गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको र त्यसको प्रभाव उदयपुर जिल्लामा समेत पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रशासनका अनुसार असोज ८ गतेदेखि असोज १२ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कटारी–घुर्मी तथा साउने–रुवा सडक खण्डमा सम्पूर्ण किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

वर्षाका कारण सडकमा पहिरो, कटान तथा अन्य जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सम्भावित दुर्घटना र क्षति रोक्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित दुर्घटना तथा क्षति रोकथामका लागि पूर्व सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै अत्यावश्यक सेवाका सवारी साधनले नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्र सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

प्रशासनले सडक र मौसमको अवस्था हेरेर यात्रा गर्न तथा अनावश्यक रूपमा रातिको समयमा यात्रा नगर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button