तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ अघिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन मन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दशैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

शिक्षा नियमावलीको दसौँ संशोधन आए देखिनै बाहिर आएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले दुई महिनादेखि नियमावलीको एघारौँ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आउनुभएको छ ।

शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेलले सबै सरोकारवालाहरूसँग मन्त्रालयमा चरणबद्ध छलफल गर्नुभएको थियो । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझाव लिइएको थियो । कतिपय छलफलमा मन्त्री पोखरेल स्वयम् सहभागी हुनुभयो । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो ।

शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरूमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।

शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरूमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्रालयलाई भनिएको थियो । मन्त्री पोखरेलले मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावलीलाई समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ । 

मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ स्वीकृत गरेको थियो । त्यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो ।

दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button