तपाईँ सुन्दै हुनुहुन्छः

असोज ९ गते अति भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी असोज ९ गते कोशीदेखि गण्डकी हुँदै लुम्बिनी प्रदेशसम्मका पहाडी तथा हिमाली क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार असोज ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

असोज ९ गते भने देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

वर्षासँगै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button