मधेश प्रदेश सरकारद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान
जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीको कार्यसम्पादनमा सहयोग गर्ने उद्देश्यले ३५ थान मोटरसाइकल प्रदान गरेको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदान गरेको ती मोटरसाइकलको साँचो सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षकहरूलाई हस्तान्तरण गरिएको हो । जनताको जीउ–धनको सुरक्षा तथा अपराध नियन्त्रणमा सक्रिय रहेको नेपाल प्रहरीलाई यस अघि विभिन्न प्रकारका साधन श्रोतहरू प्रदान गर्दै आएको छ ।
नेपाल प्रहरीलाई मोटर साइकलको साँचो हस्तान्तरण गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जनताको जीउधनको सुरक्षाका साथै भन्सार चोरी नियन्त्रण, अपराध नियन्त्रण तथा विपद्को समयमा उद्धार एवं राहत सम्बन्धी काम प्रदान गरिएको साधन श्रोत सहयोगी हुने बताउनुभयो ।
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले नेपाल प्रहरीलाई प्रदेश सरकारले प्रदान गर्दै साधन श्रोतको अधिकतम प्रयोग गरेर प्रदेशमा शान्ति सुव्यवस्था र अपराध नियन्त्रण गर्नमा ठूलो मद्दत पुगेको बताउनुभयो ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विन्देश्वर प्रसाद लेखक तथा मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित रहनुभएको थियो ।
भोली बिहीबार सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, अपराध नियन्त्रण तथा भन्सार छलीलाई कडाइका साथ नियन्त्रण गर्नका लागि २० थान मोटरसाइकल प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले ८ वटै जिल्लाहरूलाई प्रहरी भ्यान तथा सिसिटिभी सहितका विभिन्न सञ्चार उपकरणहरू प्रदान गरेको थियो । वर्षेनी रुपमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले विभिन्न प्रकारका साधन श्रोतहरू उपलब्ध गराउँदै आएको छ ।
मधेश प्रदेश सरकारले १२५ सिसीको सुपर स्पेल्ण्डर मोटरसाइकल प्रदान गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्