तपाईँ सुन्दै हुनुहुन्छः

फ्लाई दुबईकाे जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण, पानीको फोहराले स्वागत

पोखरा । फ्लाई दुबईले आजदेखि सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबईबाट आएको फ्लाई दुबईको जहाज आज साँझ ६ बजेर १९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ बजेर १५ मिनेटमा एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ ।

महाप्रबन्धक निरौलाले यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडानले नयाँ आशा जगाएको बताउनुभयो ।

पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायत विभिन्न गन्तव्यमा जाने यात्रुलाई सहज हुने र यात्रा अवधि छोटिँदा खर्चसमेत घट्ने उहाँको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ जनवरीदेखि सञ्चालन सुरु भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलका विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ बजेर १५ मिनेटमा पोखरा अवतरण गर्ने र ७ बजेर १५ मिनेटमा दुबईका लागि प्रस्थान गर्ने तालिका छ ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने यो उडानबाट पोखरा दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिएको छ ।

फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button