तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताउनुभयो । 

उहाँले प्रणालीगत तरलता लगायत विषयमा विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताउनुभयो ।

छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिनुभएको थियो । उहाँहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु स्वागत भए पनि त्यसबाट नेपाललाई हुने लाभ र सुरक्षित कारोबारबारे स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

सो विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सभामुख डोलप्रसाद अर्यालले सदस्यहरूलाई जानकारी गराउनुभएको छ ।

सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका जानुभएकाले प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा वाग्लेलाई तोकिएको पत्रको ब्यहोरा पढेर सुनाइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button