भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता
विराटनगर । जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण ‘आरी घोप्टे वर्षा’ (मुसलधारे वर्षा) हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनर्स्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको छ ।

आज महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आपतकालीन बैठकले सम्भावित प्राकृतिक विपद्को सामूहिक रूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा महानगरभित्रका जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितहरूको बसोबास व्यवस्थापनबारे गहन छलफल भएको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भन्नुभयो, ‘खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पुर्याउने, उद्धार सामग्री सुरक्षा निकायमार्फत परिचालन गर्ने र विस्थापितहरूलाई तत्काल नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा सुरक्षित आश्रय दिने गरी सबै तयारी पूरा गरिएको छ ।
मेयर कोइरालाले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तैनाथ राखिने समेत बताउनुभयो ।
महानगर क्षेत्रभित्र बाढी र डुबानबाट प्रभावित हुनसक्ने नागरिकहरूका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रय स्थल पहिचान गरिएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछिको बसोबास र राहत व्यवस्थापनमा कुनै समस्या नआउने गरी संरचनाहरू तयारी अवस्थामा राखिएको छ ।
बैठकलाई सम्बोधन गर्दै महानगर प्रमुख कोइरालाले भने, ‘बाढी र डुबानबाट महानगरवासीको जिउधन जोगाउन महानगरपालिका आफ्ना सम्पूर्ण स्रोत, साधन र क्षमता प्रयोग गर्न प्रतिबद्ध छ ।’ उहाँले विपद्को समयमा सबै वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आह्वानसमेत गनुभयो ।
बैठकमा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो वडामा रहेका बाढी र डुबानको जोखिमयुक्त क्षेत्रबारे जानकारी गराएका थिए । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १६ का उद्धव भुजेल र १९ का श्याम घिमिरेले खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न जोड दिनुभयो ।
त्यसैगरी गैरसरकारी संस्था महासङ्घ मोरङकी अध्यक्ष विष्णु शर्माले विपद्का बेला विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको विशेष सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा निकायका प्रमुखहरू मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले विपद्को समयमा जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो
बैठकमा महानगर स्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग सङ्गठन मोरङका प्रतिनिधि लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्