बालबालिकालाई प्रलोभनमा पारेर चाँदीको बाला निकाल्ने एक पक्राउ

रौतहट । साना बालबालिकालाई ललाईफकाई प्रलोभनमा पारेर उनीहरूले हातमा लगाएका चाँदीका बाला निकाल्ने गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का ४४ वर्षीय दिनेश साह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गङ्गापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३ मत्सरीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मङ्गलवार बिहान स्थानीय राजेश पण्डितका सात वर्षीय छोरा गुडु पण्डितलाई प्रलोभनमा पारी उनको हातमा लगाएको चाँदीको बाला निकाल्दै गरेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साह केही दिनअघि मत्सरीकै शङ्कर झाको घरमा भएको चोरी तथा लुटपाटको घटनामा समेत संलग्न रहेको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। सो घटनामा उनको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमले साह पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्