मनास्लु हिमाल आरोहण प्रभावित: भारी हिमपातपछि आरोही फर्किन थाले
गोरखा। भारी हिमपात र निरन्तरको वर्षाका कारण मौसम प्रतिकूल बनेपछि मनास्लु हिमाल आरोहणका लागि पुगेका केही आरोही आरोहण नै नगरी फर्कन थालेका छन्।

मौसम सुधार हुने आसमा दुई सातासम्म प्रतीक्षा गर्दा पनि स्थिति अनुकूल नभएपछि आरोहीहरू धमाधम फर्किन थालेको मनास्लु क्षेत्र नजिकै रहेको चुमनुब्री गाउँपालिका–१, सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयाे।
उनका अनुसार मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण वरपर करिब पाँच फिटसम्म बाक्लो हिमपात भएको छ। “यस्तो त कहिल्यै भएको थिएन। खै के भएको हो, लगातार पानी र हिउँ परिरहेको छ,” वडाध्यक्ष लामाले भन्नुभयाे, “त्यसैमाथि ८ देखि १२ गतेसम्म सरकारले सतर्क रहन अपिल गरेको छ। त्यसैले जोखिम मोल्नुभन्दा आरोहीहरू फर्कन थालेका हुन्।”
अब मौसममा सुधार आए पनि यस याममा आरोहीहरू फेरि आरोहणका लागि माथि जाने सम्भावना नरहेको उहाँको भनाइ छ। विगतका वर्षहरूमा त्यस क्षेत्रमा विरलै वर्षा हुने गरेकोमा यस पटक भने विगत दुई सातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयाे।
“म सन् २०१४ देखि निरन्तर बेसक्याम्प आउन थालेको हुँ। यो १२ वर्षको अवधिमा यस्तो कहिल्यै देखेको थिएनँ,” उहाँले भन्नुभयाे, “यो वर्ष त नन्-स्टप पानी परिरहेको छ। Base Camp मै तीन फिटसम्म हिउँ परेको छ भने Camp 1, 2 र 3 तिर त सात–आठ फिटसम्म बाक्लो हिउँ जमिसकेको छ। त्यसैले जोखिम देखेर आरोहीहरू फर्किएका हुन्।”
मौसम बदलिएका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै आरोहीहरू बाँकी नै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाले बताउनुभयाे। “हिमाल चढ्न नसकेर त अघिल्ला वर्षहरूमा पनि फर्कन्थे, तर यसपालि मौसम धेरै प्रतिकूल भएकाले फर्किनेको सङ्ख्या अलि धेरै छ। अहिलेसम्म करिब १० प्रतिशत आरोही फर्किएका होलान्,” उहाँले भन्नुभयाे।
विश्वकै आठौँ अग्लो (८,१६३ मिटर) मनास्लु हिमाल आरोहणका लागि यस याममा करिब ५०० जना आरोहीले अनुमति लिएका छन्। गत वर्ष ६७ देशका ४१ वटा समूहका ३६६ पुरुष र १२७ महिला गरी कुल ४९३ जना आरोहीले अनुमति लिएका थिए। जसबाट नेपाल सरकारलाई रु. २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो।







प्रतिक्रिया राख्नुहोस्