मोदीमा मौलाउँदै अलैँची खेती
पर्वत । पछिल्लो समय गाउँघरमा खेतीयोग्य जमिन बाझिँदै गएका बेला पर्वतको मोदी गाउँपालिकामा भने भूगोल र हावापानी अनुसारको खेती प्रणाली विस्तार हुन थालेको छ । मोदी गाउँपालिकाका विभिन्न क्षेत्रमा किसानले अलैँची खेतीलाई व्यावसायिक आम्दानीको माध्यम बनाउन थालेका छन् ।

गाउँपालिकाको क्याङ, भुक, लेस्पार, खुइजुरी लगायतका क्षेत्रमा अलैँची खेती विस्तार हुँदै जाँदा बाँझो तथा खेर गएका जमिनको सदुपयोगसँगै स्थानीयस्तरमै रोजगारी र आम्दानीको सम्भावना देखिएको छ । मोदी गाउँपालिका–४ क्याङका कृष्णबहादुर पुर्जाले विदेशको रोजगारी छाडेर स्वदेशमै केही गर्ने उद्देश्यसहित खेर गएको जङ्गल क्षेत्रमा एक सय रोपनीभन्दा बढी जमिनमा अलैँची खेती सुरु गर्नुभएको छ । उहाँको प्रयास अहिले व्यावसायिक खेतीतर्फ अघि बढ्न चाहने किसानका लागि प्रेरणाको विषय बनेको छ ।

कृष्णबहादुर पुर्जासँगै मोदी गाउँपालिका–१ भुकका बुद्धिबहादुर गुरुङले पनि एक सय रोपनीभन्दा बढी जमिनमा अलैँची खेती गर्नुभएको छ । यसले अलैँची खेती कुनै एक किसानको प्रयासमा मात्र सीमित नभई स्थानीयस्तरमा विस्तार गर्न सकिने सम्भावना देखाएको छ । अलैँचीलाई उपयुक्त चिस्यान, छायाँ र हावापानी आवश्यक पर्ने भएकाले पहाडी क्षेत्रका केही स्थानमा यसको व्यावसायिक खेती गर्न सकिन्छ ।
लामो समयदेखि बाँझो रहेका तथा अन्य बालीका लागि उपयुक्त नभएका जमिनको पहिचान गरी खेती विस्तार गर्न सके स्थानीय किसानले कृषि उत्पादनसँगै आम्दानीको नयाँ स्रोत विकास गर्न सक्ने देखिन्छ । यसका लागि प्राविधिक ज्ञान, गुणस्तरीय बिरुवा, सिँचाइ तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

मोदी गाउँपालिकाको कृषि शाखाकी कृषि प्राविधिक सुस्मा सापकोटाका अनुसार क्याङ, ,भुक, बाजुङ र चित्रे क्षेत्र अलैँची खेतीका लागि सम्भावनायुक्त क्षेत्र हुन् । सिमसार तथा चिस्यानयुक्त स्थानमा पनि अलैँची खेती गर्न सकिने उहाँको भनाइ छ । पहाडी क्षेत्रमा रामसाई, गोलसाई, साउने र भर्लाङे लगायतका जातका अलैँची लगाउने गरिएको छ ।
समुद्री सतहदेखि करिब आठ सय मिटरभन्दा माथिका स्थानमा भूगोल र हावापानीअनुसार खेती राम्रो हुन सक्ने प्राविधिक सापकोटा बताउनुहुन्छ । सामान्यतया अलैँची रोपेको करिब तीन वर्षपछि उत्पादन दिन सुरु गर्छ । जात, स्थान र खेती व्यवस्थापन अनुसार भदौदेखि कात्तिकसम्म उत्पादन तयार हुने भएकाले किसानले दीर्घकालीन योजनासहित खेती गर्नुपर्ने हुन्छ ।
मोदी गाउँपालिकाले अलैँची खेती विस्तारका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२ र ०८३ मा किसानलाई सहयोग गरेको छ । उक्त कार्यक्रमबाट खेती विस्तारमा गाउँपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानी रहेको छ । स्थानीय तहको सहयोग, किसानको लगानी र प्राविधिक परामर्शबाट अलैँची खेतीलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ ।
कृषि प्राविधिक सापकोटाका अनुसार किसानहरू खेतीप्रति उत्साहित रहेकाले आगामी दिनमा क्षेत्र विस्तार गर्ने योजनासहित गाउँपालिका अघि बढेको छ । यसले अनुत्पादक तथा बाँझो जमिनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने सम्भावनालाई थप बलियो बनाएको छ ।

अलैँची खेतीबाट किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन् । हाल बजारमा आलो अलैँची प्रतिकेजी करिब एक हजार तीन सय रुपैयाँ तथा पाकेको अलैँची प्रतिकेजी दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा कारोबार हुने गरेको किसानहरूले बताएका छन् ।
क्याङका कृष्णबहादुर पुर्जाले यस वर्ष करिब १ हजार ५ सय केजी अलैँची उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले उत्पादन गरेको पाकेको अलैँचीको बजार मूल्य र उत्पादन परिमाणअनुसार आम्दानीको सम्भावना देखिएको छ । यद्यपि वास्तविक आम्दानी उत्पादन लागत, गुणस्तर, बजार मूल्य र बिक्री परिमाणमा निर्भर हुन्छ ।
मोदी गाउँपालिकामा पुर्जा र गुरुङजस्ता किसानको प्रयाससँगै स्थानीय सरकारको सहयोग र प्राविधिक मार्गदर्शन जोडिन सके अलैँची खेतीले रोजगारी सिर्जना, बाँझो जमिनको उपयोग र गाउँमै आम्दानीको वातावरण निर्माण गर्न योगदान पुर्याउन सक्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्