मन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनः निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले नेपाल र पाकिस्तान पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमलगायत साझा चुनौती सामना गर्न सूचना, तथ्याङ्क, प्रविधि र अनुभवको आदानप्रदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषि तथा अन्य सम्भावित क्षेत्रमा द्विपक्षीय सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
राजदूत खानले हालैका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउँदै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
पाकिस्तानले विपद्पछिको पुनःनिर्माण तथा जलवायु उत्थानशील प्रविधिमा गरेका प्रयास र अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको उहाँले बताउनुभएको थियो । भेटमा दुवै देशले साझा पर्वतीय विषय तथा जलवायु मुद्दालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।
राजदूत खानले पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गर्नुभएको उल्लेख गर्दै पुनःनिर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्