राष्ट्रियसभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धि सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धि सङ्कल्प प्रस्ताव पारित भएको छ ।
राष्ट्रियसभाका सदस्य मदनकुमारी शाह (गरिमा)ले पेश गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट सर्वसम्मतिले पारित सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धि सङ्कल्प प्रस्ताव प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक तीन महिनामा कार्यान्वयन प्रगति सभामा पठाउन सरकारलाई निर्देशन गर्नुभयो ।
यसअघि सभामा सङ्कल्प प्रस्ताव पेश गर्दै सांसद शाहले चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतीका लागि सहायक प्रजनन प्रविधि उपर्युक्त हुने भए पनि कानूनी रिक्तताका कारण डिम्ब तस्करी बढेको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा बालिकाहरूलाई विभिन्न प्रभावमा पारेर डिम्ब किनबेचको अपराध बढेकाले डिम्ब तथा शुक्रकीट दान, सङ्कलन, भण्डारण, प्रयोग, आयात निर्यात गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको बताउनुभयो ।
सभामा दर्ता भएको सङ्कल्प प्रस्तावको पक्षमा सांसदहरु कमला पन्त, डा.प्रेमप्रसाद दंगाल, झक्कुप्रसाद सुवेदी, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्बबहादुर खातीले समर्थन गदै किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब बेच्ने अपराध बढेको भन्दै यस प्रकारको अपराध रोक्न कडा कानून तत्काल आवश्यक भएको बताउनुभएको थियो ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विज्ञहरुको टोलीले आइ.भी.एफ. र सरोगेसी सम्बन्धी अवधारण पत्र तयार पारि परामर्शका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिँदै त्यसको आधारमा यही चालु आर्थिक वर्षभित्रै विधेयक ल्याइने स्पष्ट पार्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असोज ५ गते सोमबार दिउँसा १ः१५ बजे बस्नेछ ।






प्रतिक्रिया राख्नुहोस्