राष्ट्रसङ्घद्वारा अब्बासलाई भिडियोमार्फत आम बहसमा सहभागी हुन अनुमति
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीये महासभाले बिहीबार एक प्रस्ताव पारित गर्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई यस वर्षको आम बहसमा भिडियोमार्फत सहभागी हुन अनुमति दिएको छ । अमेरिकाले उहाँलाई प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार गरेपछि यो निर्णय लिइएको जनाइएको छ ।
सभामा १५२ मत पक्षमा, ३ मत विपक्षमा र ४ मत तटस्थ रहँदै पारित भएको यस प्रस्तावअनुसार, प्यालेस्टाइनले अब्बासको पूर्व–रेकर्ड गरिएको मन्तव्य पेस गर्न सक्नेछ । भौतिक रूपमा उपस्थित प्यालेस्टिनी प्रतिनिधिले परिचय गराए पछि महासभाको हलमा हुने आम बहसका क्रममा उक्त मन्तव्य प्रसारण गरिनेछ ।
यस प्रस्तावले प्यालेस्टाइनसम्बन्धी विषयको शान्तिपूर्ण समाधान र दुई–राज्य बीचको मतभेदको समाधानको कार्यान्वयनका लागि आयोजना गरिने उच्च–स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनका बैठकहरूमा पनि प्यालेस्टाइनलाई भिडियो–कन्फरेन्स वा पूर्व–रेकर्ड गरिएको मन्तव्यमार्फत सम्बोधन गर्ने अनुमति दिएको छ ।
यदि प्यालेस्टाइनका प्रतिनिधिहरू राष्ट्रसङ्घका बैठकहरूमा प्रत्यक्ष सहभागी हुनबाट वञ्चित भएमा, यस प्रस्तावले प्यालेस्टाइनलाई आफ्ना राष्ट्रपति वा अन्य कुनै उच्च–स्तरीय प्रतिनिधिको पूर्व–रेकर्ड गरिएको मन्तव्य पेस गर्न अनुमति दिन्छ । यस्तो सुविधा राष्ट्रसङ्घका उच्च–स्तरीय बैठक वा सम्मेलनका साथै महासभा वा राष्ट्रसङ्घका अन्य निकायहरूको तत्वावधानमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि लागू हुने गर्छ ।
अमेरिकाले बुधबार अब्बाससहितका प्यालेस्टिनी अधिकारीहरूमाथि भिसा प्रतिबन्धलाई निरन्तरता दिएका कारण अब्बास लगातार दोस्रो वर्ष पनि राष्ट्रसङ्घीय महासभाको उच्च–स्तरीय बैठकको सातामा प्रत्यक्ष रूपमा सहभागी हुन नपाउनु भएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्