राप्तीसोनारीमा एक वर्षमा ४ हजार ८ सय मिटर सडक कालोपत्रे
बाँके। बाँकेमा राप्तीसोनारी गाउँपालिकाले गत आर्थिक वर्षमा सडक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विभिन्न योजना कार्यान्वयन गरेको छ ।
गाउँपालिकाको पूर्वाधार शाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र ४ हजार ८ सय २१ मिटर सडक कालोपत्रे, २४ हजार २ सय ८ मिटर ग्राभेल र ५ हजार ७० मिटर पीसीसी सडक निर्माण गरिएको छ ।
यस्तै, २ हजार ३० मिटर नयाँ सडकको ट्र्याक खोलिएको तथा आठ वटा कल्भर्ट निर्माण गरिएको छ ।
गाउँपालिकाले सडकसँगै नाली, पर्खाल र ग्याबिन निर्माणमा पनि जोड दिएको जनाएको छ । एक वर्षमा ३ हजार ५ सय ९४ मिटर पक्की नाली निर्माण गरिएको छ ।
पूर्वाधार शाखाका अनुसार वडा नम्बर ४ मा देउपुरुवादेखि फुटलैया जोड्ने सडकको ५ सय ४८ मिटर कालोपत्रे गरिएको छ । वडा नम्बर ३ मा बको खोलादेखि अजरुवाखोलासम्म ३ सय ६६ मिटर र वडा नम्बर ९ मा माथिल्लो महादेवदेखि तल्लो महादेवसम्म ३ सय ७८ मिटर सडक कालोपत्रे गरिएको छ ।
यस्तै, रिम्ना पार्कदेखि पश्चिम–पूर्वतर्फको सडकमा १ हजार ४ सय ८४ मिटर कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ ।
सडक पूर्वाधारसँगै विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सिँचाइ तथा सामाजिक पूर्वाधारका योजनासमेत सञ्चालन गरिएको छ । प्रगति विवरणअनुसार पाँच वटा नयाँ भवन निर्माण, दुई वटा विद्यालय भवन निर्माण तथा आठ वटा पुराना भवन मर्मत गरिएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ठूलो भौगोलिक क्षेत्र र नागरिकको आवश्यकतालाई आधार बनाएर पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
उहाँले सडकसँगै नाली, कल्भर्ट, सिँचाइ, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र विपन्न नागरिकका लागि आवास निर्माणलाई समेत प्राथमिकता दिइएको बताउनुभयो ।
गाउँपालिकाले आगामी दिनमा बाँकी बस्तीलाई सडक सञ्जालमा जोड्ने तथा निर्माण भएका सडकलाई दिगो र व्यवस्थित बनाउन नाली, पुल–पुलेसा लगायतका संरचना निर्माणलाई निरन्तरता दिने जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्