चेतनदीप अयडी हत्या प्रकरणमा ६ जनालाई जन्मकैद
बाजुरा।अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

घटना भएको करिब चार वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीको हत्यामा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
अदालतका अनुसार त्रिवेणी नगरपालिका–७ का शेरबहादुर अयडी ‘जङ्ग’, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी ‘खेम’, जीवन अयडी र धनराज थापालाई जन्मकैदको सजाय तोकिएको छ। दोषी ठहर भएका उनीहरूबाट पीडित पक्षलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत अदालतले दिएको छ।
यद्यपि, अभियोग पुष्टि भएका ६ जनालाई जीवित रहेसम्म कैद गर्नुपर्ने सरकारी माग भने अदालतले अस्वीकार गरेको छ।
यसै घटनामा आरोपित पदमबहादुर अयडी, विनोद अयडी, रूपा चौधरी अयडीलगायत १८ जनालाई अदालतले अभियोगबाट सफाइ दिएको छ।
२०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित कैलाशमाडौँमा घर घेरा हालेर कुटपिट गर्दा अनेरास्ववियुका नेता चेतनदीप अयडीको मृत्यु भएको थियो।
लामो न्यायिक प्रक्रियापछि जिल्ला अदालतले घटनाको अन्तिम फैसला सुनाएको हो।







प्रतिक्रिया राख्नुहोस्