राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८३ पेस भएको छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८३ पेस गर्नुभएको हो ।

यसअघि बैठकमा सांसदहरुले भोटेकोशी बाढीले क्षति पुर्याएका व्यक्तिका घर टहराहरूमा अझै खोज तलास हुन नसकेको भन्दै खोज तथा उद्धारको कामलाई थप तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाढीका कारण विस्थापितहरूले आफ्नै घरको भग्नावशेषमा परिवारका सदस्यहरूको लास रहेको भनिरहँदा समेत खोज, उद्धारका काम सुस्त भएकोप्रति गुनासो गरेको बताउनुभयो ।
सांसदहरुले तत्काल व्यक्तिका नीजि घरहरू, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू, वित्तीय संस्थाका भवन लगायतका संरचनामा खोज तलासका लागि छुट्टै विशेष टिम परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले विभिन्न मित्रराष्ट्र प्राप्त राहत सामग्रीहरु त्रिभुवन विमानस्थलमा अलपत्र अवस्थामा रहेकाले त्यसलाई सम्बन्धित क्षेत्रमा आवश्यकताका आधारमा तत्काल पु¥याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बाढी जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न, गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाको सुरक्षामा विशेष ध्यान दिन, घरबार विहीनहरूका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था र दीर्घकालीन रुपमा सुरक्षित स्थानमा पुन स्थापनको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तुमा बढेको कालोबजारी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न, स्वास्थ्य वीमाको क्षेत्र विस्तार गर्न, बाँदर आतङ्क नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धि सम्झौतामाथि सामान्य छलफल जारी छ ।








प्रतिक्रिया राख्नुहोस्