तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा अस्पतालमा जटिल शल्यक्रिया हुन थालेपछि स्थानीयलाई राहत

बाजुरा I जिल्ला अस्पताल बाजुरामा जटिल प्रकृतिका समस्याहरूको शल्यक्रिया हुन थालेपछि बाजुरावासीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।

अस्पतालमा जटिल प्रसूति, एपेन्डिक्स, हाडजोर्नी तथा नसासम्बन्धी समस्या लगायतका शल्यक्रिया सफलतापूर्वक हुन थालेका हुन्।

विशेषज्ञ चिकित्सकबाट सेवा सुरु भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यासमेत बढेको अस्पतालले जनाएको छ। हुम्ला, मुगु, कालिकोटलगायत छिमेकी जिल्लाबाट समेत दैनिक १ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

;

गत आर्थिक वर्ष २०८२/८३ मा जिल्ला अस्पतालबाट ३४ हजार ९ सय ५५ जनाले स्वास्थ्य सेवा लिएका छन्। सो अवधिमा ३ सय ५१ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो। चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ६ हजार ४ सय ६१ जनाले सेवा लिनुभएको सूचना अधिकारी नृप गिरीले बताउनुभयो।

अस्पतालका अनुसार चालु आवको दुई महिनामै १ सय ३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको छ। चौबिसै घण्टा आकस्मिक सेवा तथा विभिन्न रोगका विशेषज्ञ सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई ठूलो राहत भएको छ।

तर, अस्पतालमा पर्याप्त स्थायी जनशक्ति, औषधि, उपकरण र बजेटको अभाव भने कायमै छ। ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने अस्पताल हाल १५ शय्यामै सञ्चालन भइरहेकाले सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button