तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै काठका भाँडा

बाजुरा । कुनै समय बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडाकुँडा हाल गाउँघरमै पाउन मुस्किल पर्न थालेको छ। आधुनिक प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढेसँगै काठका भाँडा बनाउने परम्परागत पेसा नै संकटमा परेको हो।

चदारा समुदायले पुस्तौँदेखि गर्दै आएको काठका भाँडा बनाउने ‘भाँडी’ पेसा अहिले अस्तित्व जोगाउन संघर्षरत अवस्थामा पुगेको छ। मेहनत अनुसारको मूल्य नपाइनु, बजारको अभाव हुनु र सरकारी स्तरबाट संरक्षण नहुँदा यो पेसाबाट गुजारा चलाउनै धौ-धौ परेको व्यवसायीहरूको दुखेसो छ।

बडिमालिका नगरपालिका–५ का व्यवसायी राजेन्द्र चदाराका अनुसार यो पेसाबाट परिवार पाल्नै मुस्किल भइसकेको छ।

“पहिले गाउँघरमा काठका भाँडाको निकै माग हुन्थ्यो, अहिले त बनाएका भाँडा बेच्नै धौ-धौ हुन्छ,” उहाँले भन्नुभयो।

विगतमा काठबाट ठेकी, कचौरा, तुरी लगायतका घरायसी सामग्री निर्माण गरिन्थ्यो र गाउँघरमा यिनको प्रयोग व्यापक थियो। त्यतिबेला नगदभन्दा पनि अन्न साट्ने ‘बालीघरे प्रथा’ प्रचलनमा थियो, जसअन्तर्गत काठका भाँडा बनाएबापत धान, गहुँ जस्ता अन्न प्राप्त हुन्थ्यो। अहिले भने त्यो अवस्था पूर्ण रूपमा हराइसकेको व्यवसायीहरूको गुनासो छ।

आधुनिकतासँगै बजारमा प्लास्टिक, स्टिल र एलुमिनियमका भाँडाकुँडाको बाहुल्य बढेपछि काठका भाँडा ओझेलमा परेका हुन्। सस्तो, हलुका र सजिलै पाइने आधुनिक सामग्रीले परम्परागत काठका भाँडालाई विस्थापित गरिदिएका छन्।

स्थानीय स्तरमा यो पेसाको संरक्षण र प्रवर्द्धनका लागि कुनै ठोस कार्यक्रम नल्याइए चदारा समुदायको परम्परागत पेसा इतिहासमै सीमित हुने खतरा बढेको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button