अटवारी पर्व मनाउँदै थारु समुदाय
कञ्चनपुर। थारु समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ । अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारु समुदायको इतिहास, आस्था, मौलिक संस्कृति र दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीय सम्बन्ध जोड्ने महत्वपूर्ण पर्वका रूपमा स्थापित छ।

हरेक वर्ष भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने अटवारी पर्वलाई कतिपय ठाउँमा इतबारी वा आइतबारीसमेत भन्ने गरिन्छ । पर्वका अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायु, सुख, शान्ति र सौभाग्यको कामना गर्दै व्रत बस्ने तथा विशेष पूजा गर्ने चलन छ ।
अटवारीलाई थारु समुदायले माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन् । पौराणिक कथनअनुसार थारु राजा दङ्गीशरणमाथि आक्रमण हुँदा पाँच पाण्डवमध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ । त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवान्का रूपमा पूजा गर्ने र आफू पनि भीमजस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ । लालझाडी गाउँपालिका-३ का वडाध्यक्ष टिकाराम डगौराका अनुसार अटवारी थारु समुदायको इतिहास, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्छन् । पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ । पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन् । तर, आफूले खानुअघि दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ । यसलाई थारु समुदायमा अग्रासन भन्ने गरिन्छ । लालझाडी गाउँपालिका-३, छोटिपर्सियाका भगत सिंह चौधरीका अनुसार अग्रासन अर्को दिन दिदीबहिनीलाई दिने परम्परा छ ।
अग्रासन लिएर दिदीबहिनीको घरमा पुग्ने दाजुभाइलाई दिदीबहिनीले पनि उपहार दिने गर्छन् । वर्षभरि माइती आउन नपाएका विवाहित दिदीबहिनीसमेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । अटवारीको दोस्रो दिन विभिन्न परिकार खाने चलनसमेत छ । फुलौरी, केराउ, पटौला, ठच्चालगायतका परिकारसँगै माछाको सिद्रा खाने परम्परा रहेको थारु समुदायका अगुवाहरू बताउँछन् । पर्वको अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिँदै आएका छन् । केही स्थानीय तहहरूले सोमबार पनि स्थानीय सार्वजनिक बिदा दिने गरेका छन् ।
यता, कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्छन्। दिन इतबारका दिन रानाथारु समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझपख पूजाआजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ । लालझाडी गाउँपालिका-३, छोटिपर्सियाका मनिराम रानाका अनुसार इतबार रानाथारु समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो ।
यसरी अटवारी तथा इतबार पर्वले थारु समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटीप्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ । बदलिँदो जीवनशैलीसँगै पर्व मनाउने तौरतरिकामा केही परिवर्तन आए पनि यसको सांस्कृतिक महत्व भने अझै उत्तिकै रहेको थारु समुदायका अगुवाहरू बताउँछन् ।





प्रतिक्रिया राख्नुहोस्