भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग
झापा । भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले पहिलो चरणमा ७५ लाख ५३ हजार ९४७ रुपैयाँ सहयोग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ ।
प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम सङ्कलन गरिएको हो । विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा सङ्कलित रकम प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरियो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरे, निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, केन्द्रीय सदस्य श्रवण पोखरेल र कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेलाई रकम हस्तान्तरण गर्नुभयो ।
सहयोग सङ्कलन अभियानलाई निरन्तरता दिँदै एक साताभित्र थप रकम सङ्कलन गरेर सहयोग रकम १ करोड रुपैयाँ पुर्याइने झापा अध्यक्ष कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्