भोटेकोशी बाढीपीडितलाई झापाका कैदीबन्दीहरुको ३ लाख ३३ हजार सहयोग
झापा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि झापा कारागारमा रहेका कैदीबन्दीहरूले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ राहत सहयोग गरेका छन् ।

झापा कारागारमा आज आयोजित कार्यक्रममा कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावतीले उक्त रकम झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
देशमा ठूलो विपद् आइपरेका बेला आफ्नो गाँस र सुविधाबाट रकम कटाएर बाढीपीडितलाई सहयोग गरिएको लावतीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले कैदीबन्दीहरूले आफूले पाउने गाँस तथा सुविधाबाट समेत रकम छुट्याएर बाढीपीडितलाई सहयोग गर्नु ठूलो मानवीय कार्य भएको बताउँदै सहयोगका लागि कैदीबन्दीहरुलाई धन्यवाद दिनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्का, झापा कारागारका प्रमुख रेवन्त भट्टराई लगायतको उपस्थिति रहेको बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्