घाइतेहरूसँग गरिएका सम्झौता पुरा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जेन–जी विद्रोहको एक वर्ष पुरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ की छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

बैठकमा सांसदहरुले जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरुद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार परिवर्तन, सरकारको शैली परिवर्तन, मुलुकमा व्याप्त विधि विहीनता र दण्ड विहीनताको विरुद्ध भएको बताउनुभयो ।
सांसदहरुले देशमा परिवर्तनका लागि युवाहरूद्वारा गरिएको जेनजी आन्दोलनकै आडमा बनेको सरकारले उनीहरुकोे माग अनुसार काम गर्न नसकेको भन्दै मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पुरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले यही भदौ १० गते आएको भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको सरकारले खोजी कार्य गरिरहेको भएपनि त्यसले गति लिन नसकेको भन्दै पिडित परिवारको गुनासोप्रति सरकार थप गम्भीर बन्नुपर्ने माग गर्नुभयो ।
बाढीमा परी प्रभावित भएकाहरू सबैलाई एउटै होल्डिङ सेन्टरमा एकै ठाउँमा राख्दा महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षा र गोपनीयतामा असर पर्न सक्ने भएकाले त्यसतर्फ संवेदनशील बन्न समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बाढीमा परी बेपत्ता भएका विभिन्न जिल्लाका नागरिकहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्र बनाउन तथा पीडितहरूलाई राहत र पुन स्थापनाको लागि समयमै गम्भीर बन्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बाढीका कारण विभिन्न स्थानका कनेक्टिभिटी टुट्दा समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौँ–नुवाकोट र नुवाकोट–रसुवा लगायतका क्षेत्रको कनेक्टिभिटीमा छिटो काम गर्नुपर्ने माग गर्नुभयो ।
बैठकमा सांसदहरुले ग्याँस अभावका कारण कयौँ नागरिकहरू समस्यामा परेकोप्रति पनि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्