तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा राप्रपाका चार सांसद पदमुक्त नहुने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ । 

बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईँले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा सांसदहरूलाई पदमुक्त गर्न कानुनी आधार नपुगेको ठहर गर्नु भएको हो । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय दलका नेता उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा पत्र पठाउनु भएको थियो । गत भदौ ८ गते राप्रपा केन्द्रीय समितिको निर्णयसहित चार सांसदलाई कारबाही गर्न माग गर्दै दर्ता गरिएको उक्त पत्रमाथि अध्ययनपछि उपसभामुखले चारै जनाको पद रिक्त भएको मान्न सकिने पर्याप्त कानुनी आधार नदेखिएको निर्णय गर्नु भएको हो । 

प्रदेश सभाका प्रवक्ता प्रकाश चापागाईंका अनुसार सांसदहरूले संसदीय दलको ह्विप उल्लङ्घन गरेको पुष्टि हुने आधार नदेखिएको र कारबाहीको प्रक्रिया पनि निर्धारित विधिअनुसार पूरा नभएको निष्कर्ष निकालिएको छ । उपसभामुखको निर्णयमा सम्बन्धित सांसदहरूलाई आफ्नो पक्षमा सफाइ पेश गर्ने पर्याप्त अवसर नदिइएको तथा प्राकृतिक न्यायको सिद्धान्तसमेत पालना नभएको उल्लेख छ । साथै, राजनीतिक दलसम्बन्धी ऐन र राप्रपाको विधानअनुसार पार्टी अनुशासनसम्बन्धी कारबाहीका लागि पूरा गर्नुपर्ने प्रक्रिया पालना नभएको ठहर गरिएको छ । 

प्रवक्ता चापागाईंका अनुसार अधिकार क्षेत्रविहीन निकायबाट गरिएको कारबाही र त्यसका आधारमा पठाइएको पदमुक्तसम्बन्धी पत्र कानुनी रूपमा त्रुटिपूर्ण देखिएको उपसभामुखको निष्कर्ष छ । मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारमा सहभागी भएको विषयलाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले चार सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button