तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन

दाङ । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।

जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय गरेको थियो । पार्टीले काफ्लेले पटकपटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको जनाएको छ ।

सो निर्णयबारे जानकारी गराउँदै जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो । उक्त पत्र सभामुखसमक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सचिवालयको सूचना पाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।

काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्विपसँग सम्बन्धित विषयमा पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button