मिथिलामा चाडपर्वको लहर सुरु हुँदा बाढीमा हराएका गङ्गारामको खोजी
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुश अमावस्या आउँदै छ ।
त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जितिया, दशहारा, दीपावली र छठ मिथिला क्षेत्रका महत्त्वपूर्ण चाडपर्व हुन् । यस्ता चाडबाडमा काम विशेषले टाढा रहेका परिवारका सबै सदस्य घरमा जम्मा हुने र आआफ्नो गच्छे अनुरुप मनाउने प्रचलन छ । तर यस पटक मटिहानी–७ की करिब ६० वर्षीया मिथिलादेवी मण्डललाई अहिले नजिकिएका चाडपर्वप्रति कुनै हेक्का छैन । छोरा गङ्गाराम मण्डल भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि मण्डललाई जतिखेर पनि छोराकै सम्झनाले झस्काइ रहन्छ ।
“हमर बौवा कहिया आओत्, ओइकेबाट जोहैछी”, अर्थात मेरो छोरा कहिले आउँछ, अहिले उसकै बाटो हेर्दै छु’ मिथिला भन्नुहुन्छ । “बेटा नइ अई त पावैनतिहार कि आओत”, अर्थात छोरा नभइ चाडपर्व आउनुको के हुन्छ । काठमाडौँस्थित ऋचा टुर्स एण्ड ट्राभल कम्पनीमा पर्यटकको खाना पकाउने काममा रहेका गङ्गाराम मानसरोवर जाने क्रममा भदौ १० गते भोटेकोशीमा बाढी आएसँगै रसुवाबाट सम्पर्कविहीन हुनुहुन्छ ।
गङ्गाराम सम्पर्कविहीन भएसँगै आफन्त रसुवासम्मै पुगेर खोजी गरेपनि कतै फेला नपरेपछि परिवारजन छटपटिइरहनुभएको छ । गङ्गाराम बाढीमा परी बेपत्ता भएपछि पत्नी गुन्जा शोकले रुँदारुँदा कमजोरी हुनुभएको छ । घरमा कोही नयाँ मानिस पुग्यो कि गुन्जा पतिको केही खबर आयो कि भनी आस गर्नुहुन्छ । तर हालसम्म त्यस्तो आश पलाउने खबर भने कोहीबाट आएको छैन ।
गङ्गारामका पिता अशेश्वर मण्डल, आमा, पत्नी र चार छोराछोरीसहित आठ जनाको परिवार छ । ठूलो छोरा सानोतिनो काममा लागे पनि परिवारको लालनपालन गङ्गारामकै आर्जनको भरमा थियो । अहिले घरको मुख्य मान्छे नै सम्पर्कविहीन भएपछि उक्त परिवार छाँगाबाट खसे झैँ भएको छ ।
गङ्गारामबारे सोधखोज गर्न घर पुग्ने जोसुकैलाई पिता अशेश्वर छोराको फोटो देखाउँदै यसलाई कतै देख्नुभयो भनी सोध्नुहुन्छ । बुढ्यौलीले गाँज्दै लगेका अशेश्वर भन्नुहुन्छ, “ठूलो नाति अहिले पनि काठमाडौँतिर बाबुको खोजमा छ, अरू साना लालावालासँग हामी घरमा छौ, पत्नी मिथिला, बुहारी गुन्जा र तीन नातिनातिना देखाउँदै उहाँ भन्नुहुन्छ पत्नी मिथिला र बुहारी खानपीन र घरको काम गर्नु भन्दा टोलाइ रहन्छन् । बाहिरबाट पुग्ने जो कोही पाहुनाले हजुरबा, हजुरआमा र आमाका बीच तीन जना छोराछोरी टोलाइरहेका देख्छन् । ती अबोध बालबालिकालाई अझै पनि बाबु गङ्गारामलाई लिएर ठूलदाजु आदित्यराज मण्डल फर्कने आस छ ।
घरमा आउनेजानेसँग कुराकानीका आधारमा सम्पर्कविहीन भएको १४ दिन भइसकेकाले अशेश्वरलाई अब छोरा फर्कने त्यति आस छैन । उहाँ भन्नुहुन्छ हेर्नोस् १४ दिन भयो, अब मेरो छोरा सकुशल भेटिन्छ नै भन्ने लाग्न छाड्यो, कुनै अवस्थामा उसलाई सरकारले ल्याइदिए बिस्तारै मन बुझाउने कुरा बन्थ्यो ।
आमा मिथिलाले छोराको कल्याण र दीर्घायुको कामना गर्दै बर्सेनि जितिया पर्वको कठोर व्रत गर्दै आउनुभएको थियो । असोज कृष्ण पक्षमा मनाइने यो पर्व नजिकिँदै गर्दा मिथिलालाई जितिया पर्वले झस्काएको छ ।
यसैबीच गङ्गाराम कार्यरत ट्राभल्स कम्पनीले भर्खर रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्म गरिएको खोजमा उहाँ फेला नपरेको जानकारी परिवारजनलाई गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । तर परिवारजन भने कम्पनी, सरकार र अरू खोजकर्ताले जुनसुकै अवस्थाका गङ्गाराम ल्याइदिउन् भनिरहनुभएको छ । केही त चाहियो नि १ पिता अशेश्वर भन्नुहुन्छ, “नत्र कसरी चित्त बुझ्छ ।” गङ्गारामको अवस्था यकिन नहुँदा घरपरिवारसँगै छरछिमेक सबै चिन्तित छन् । गङ्गारामको खोजीसँगै घरपरिवारलाई तत्काल राहत र आड भरोसाको जरुरी देखिएको छिमेकी बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्