तीन दिनपछि खुल्यो साँफे–मार्तडी सडक
बाजुरा । अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक आजदेखि सञ्चालनमा आएको छ।

गत शनिबारदेखि बडीमालिका नगरपालिका–६, ८ र ९ अन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
उहाँका अनुसार सदरमुकाम नजिकैको कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का र वीरेखोला लगायतका स्थानमा पहिरो खसेको थियो। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन हुँदा सडक सञ्चालनमा केही ढिलाइ भएको हो।
सडक खुलेसँगै मार्तडीबाट छोटो तथा लामो दूरीका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्। तर, कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण बस र ट्रकलगायत ठूला सवारी साधन भने अझै सहज रूपमा सञ्चालन हुन सकेका छैनन्। उक्त स्थानमा मेसिन प्रयोग गरी ढुङ्गा हटाउने तथा सडक मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
शनिबार रातिको अविरल वर्षापछि पहिरोले विद्युत्का करिब ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पनि अवरुद्ध भएको थियो।








प्रतिक्रिया राख्नुहोस्