रोल्पाको सहिद मार्ग सात दिनदेखि अवरुद्ध
रोल्पा । अविरल वर्षाका कारण रोल्पाको सहिद मार्गमा ठाउँ ठाउँमा पहिरो गइरहँदा विगत सात दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ ।
सहिद मार्गअन्तर्गत घोराही–होलेरी–घर्तीगाउँ–थबाङ हुँदै पूर्वी रुकुम आवतजावत गर्ने मुख्य सडक खण्डमा विभिन्न स्थानमा पहिरो गएपछि यातायात सेवा प्रभावित भएको हो ।

सडकका विभिन्न स्थानमा दैनिकजसो पहिरो जाने र पहिरो पन्छाएर सडक सञ्चालन गर्ने गरिए पनि परिवर्तन गाउँपालिकामा गएको ठूलो पहिरोका कारण सडक लामो समयदेखि अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–३ स्थित भालखोरमा गएको ठूलो पहिरो पन्छाउन नसक्दा सहिद मार्ग सात दिनदेखि पूर्णरूपमा अवरुद्ध हुँदा यातायात सञ्चालनमा आउन सकेका छैनन् ।
त्यसैगरी सहिद मार्गसँगै सुलीचौर–थबाङ सडकखण्ड पनि पूर्ण रूपमा छ । साउन २७ कोटलबारामा गएको विनाशकारी पहिरोले सडक, गाउँ तथा पुलमा ठूलो क्षति पुर्याएपछि उक्त सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन ।
यसैगरी जिल्लाका अन्य ग्रामीण सडकहरू लिबाङ–धबाङ र घर्तीगाउँ–जिनाबाङ सडकसँगै अन्य खण्ड समेत पहिरोका कारण अवरुद्ध भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्