‘खोज तथा उद्धारको आधिकारिक चरण जारी’
काठमाडौँ । सुरक्षा निकायका अधिकारीहरुले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनःस्थापना र पुल तथा अस्थायी संरचनाको निमार्ण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीहरुले बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा ठूलो ढुङ्गा, गहिरो लेदोका साथै प्रवेश स्थलमा हेलिकोप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत उद्धार कार्य जारी रहेको बताउनुभयो ।
नेपाली सेनाका अधिकारीहरुले बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा बाढीको समय धेरै जसो कर्मचारीहरू सुरुङ भित्र नभएको समेत जानकारी दिनुभयो ।
यस्तै, सुरक्षा निकायका अधिकारीहरुले डिएनए नमुना सङ्कलन गरि शवहरू व्यवस्थापन भइरहेको र सीमापारि भेटिएका १८ शवहरूलाई पनि उक्त स्थानका स्थानीय तहसँग समन्वयमा गरि नेपाल ल्याइएको जानकारी दिनुभयो ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी आउँदा चीनतर्फ भागेर ज्यान बचाएका १०० भन्दा बढी नेपाली नागरिकलाई चिनियाँ र नेपाली पक्षको समन्वयमा सकुशल फर्काइएको जानकारी दिनुभयो ।
कार्यकारी प्रमुख डा. उप्रेतीले सामाजिक सञ्जालमा फैलिएका पुराना र गलत भिडियो र सूचनाले नकारात्मक प्रभाव पारेको बताउँदै आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्