तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले जीप पुरिँदा एकको मृत्यु, ५ घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेमा पहिरोले जीप पुरिदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो दुर्घटनामा धुर्कोट गाउँपालिका ३ का १९ बर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षण राजिव श्रेष्टले जानकारी दिनुभयो ।

अर्घाखाँचीको मालारानीबाट गुल्मीको हाडहाडे आउँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप हर्रापाटामा पहिरोले पुरिएको श्रेष्टले बताउनुभयो । दुर्घटनामा सोही स्थानका जीप चालक २१ बर्षका प्रदिप पुनको अवस्था गम्भीर रहेको छ । २५ बर्षका रमेश रानाको हातमा चोट लागेको छ । २९ बर्षका केशव काउछा, २१ बर्षका खिम काउछा र १८ बर्षका बिशाल काउछा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सवैलाई थप उपचारको लागि अर्घाखाँची अस्पताल सन्धिखर्क पठाइएको छ । रातिदेखिको अविरल बर्षाले जिल्लाका ७० प्रतिशत ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । सदरमुकाम तम्घास नजिकैका ६ घर परिवार पहिरोका कारण बिस्थापित भएका छन् ।

रेसुङ्गा नगरपालिका ७ को बेदुखर्चका राम बहादुर नेपाली, लक्ष्मी कुवर र पदम बिष्ट लगायतको परिवार बिस्थापित भएको स्थानीय रिदम पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button