टोले गुन्डाका कानको मुन्द्रा झिक्दै तुलसीपुर प्रहरी
तुलसीपुर । गुन्डा नियन्त्रणको अभियान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरले एक सय ७५ जनाको कानमा लगाएको मुन्द्रा फाल्न पठाएको छ ।
धार्मिक संस्कारका कारण लगाएको बाहेक अन्य सबैको कानमा लगाएको रिङ र टप झिकेर फाल्न पठाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चुल्ठे, मुन्द्रे, टोले गुन्डाबाट तुलसीपुर बजार आक्रान्त भएको जनगुनासोका आधारमा कपाल काट्न सुरु गरेको प्रहरीले अहिले मुन्द्रा फाल्ने अभियान थालेको हो ।
शुक्रवार शनिवार मात्रै प्रहरीले यति ठुलो सङ्ख्या (एक सय ७५) युवाहरूले लगाएको मुन्द्रा झिकेर फाल्न पठाएको हो ।
‘हेर्नुस् मैले चर्चा बटुल्नलाई यो काम गरेको हैन । टोल टोलमा पुग्दा महिलाहरूबाट गुनासो आयो । हामीहरू भयवित भएका छौ । कपालको चुल्ठा र कानमा मुन्द्रा लगाएकाहरू ग्याङ बनाएर हिँड्छन् जिस्काउँछन् भनेपछि यो काम सुरु गरिएको हो,’ प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले भन्नुभयो, –‘घण्टा र दिनको हिसाब गरेर काममा खटेका छौ ।’
एक महिनामा गुन्डा र लागु औषध नियन्त्रण गर्छु भनेर त्यतिकै नबोलेको बताउँदै प्रनाउ सिंहले अहिले गुन्डाहरूको भागा भाग भएको बताउनुभयो ।
विगतमा नेतृत्वले चासो नदिँदा कामै नपाएर बसेका जवानदेखि इन्सपेक्टरसम्मले अहिले रातदिन अपराध नियन्त्रणमा खटेको प्रनाउ सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्