तपाईँ सुन्दै हुनुहुन्छः

विपद्बारे कांग्रेसद्वारा जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नेपाली काँग्रेसले भोटेकोशी बाढीको विपद् सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धार केन्द्रित रहेर स्थानीय जनप्रतिनिधिसँग आज छलफल गरेको हो ।

कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भोटेकोशीमा आएको विपत्ति लगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्नुपर्छ भन्ने नीतिका साथ सरकारलाई सहयोग गरेको बताउनुभयो । 

उहाँले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको व्यक्तिहरूको उद्धारका लागि सुरुआती चरणमा प्राविधिकको सहयोग नलिएका कारण उद्धार प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।

एउटालाई परेको विपत्तिमा अर्काले सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर सहयोग गर्न पनि उहाँले जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

छलफलमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला पार्टी सभापतिहरूले पीडित र प्रभावित नागरिकले उद्धार र राहतका लागि सङ्घीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

साथै उहाँहरूले राहत सामग्रीको प्रभावकारी वितरणका लागि एकद्वार प्रणाली स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरका महानगर, नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button