बाढी प्रभावित विद्यालय पुनः निर्माणमा ‘ठूला विद्यालय’को अवधारणा: मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन क्लस्टर)का प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा सम्पन्न छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणबारे छलफल भएको हो ।
छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँहरूले प्रभावित बालबालिकाको शिक्षा र बसोबास व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् । साथै, उनीहरूले तत्कालीन र दीर्घकालीन सहयोगका लागि आफूहरू लागिरहेको र आवश्यक स्रोत व्यवस्थापनका काममा जुटाइरहेको जानकारी दिनुभयो ।
शिक्षामन्त्री पोखरेलले विपद्को यस घडीमा एजुकेशन क्लस्टरका प्रतिनिधिहरूबाट भएको प्रयासका लागि धन्यवाद दिँदै यसमा मन्त्रालय एक्लो नरहेको र सामूहिक प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयको पुनःनिर्माणका सन्दर्भमा हामीले आवासीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणाअनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने धारणा राख्नुभयो ।
शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले अन्य देशहरूले यस्तो विपद्को समयमा त्यहाँको समुदायको पुनःस्थापनाका लागि के कस्ता प्रयास गरेका थिए भन्ने अनुभवले हामीलाई यस क्षेत्रमा काम गर्नका लागि सहयोग पुग्ने भएकाले सोका लागि पनि क्लटरका प्रतिनिधिहरूलाई आवश्यक अध्ययन गर्नुहुन अनुरोध गर्नुभयो ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट हुने सहयोगमा दोहोरोपन नआउने गरी सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालले बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।
बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति पुगेको छ । क्षतिको विस्तृत जिल्लागत विवरण सङ्कलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ ।
मन्त्रालयले यकिन तथ्याङ्कका आधारमा राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ । शिक्षा विभागले उपलब्ध गराएको हालसम्मको तथ्याङ्कअनुसार हालै आएको बाढीका कारण विद्यार्थी र शिक्षकसमेत ठूलो सङ्ख्यामा प्रभावित भएका छन् ।
बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक संस्थासँग सम्बन्धित व्यक्तिहरू छन् । बाढीका कारण शैक्षिक क्षेत्र प्रभावित भएको छ । बाढीले शैक्षिक संस्थाका भौतिक संरचनामा क्षति पुर्याएको छ । प्राप्त विवरणमा सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति भएको उल्लेख छ ।
प्रारम्भिक विवरणअनुसार केही सामुदायिक तथा संस्थागत शैक्षिक संस्थामा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ । तर जिल्लागत रूपमा कुन संस्थामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै सङ्कलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । बाढीबाट विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थामाथि परेको क्षतिको यकिन विवरण सङ्कलन गरी राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाइने छ ।







प्रतिक्रिया राख्नुहोस्