विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा आएको अकल्पनीय राष्ट्रिय विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा आएको बाढीको महाविपत्तिको सामना गर्न सरकारले हर प्रयास गरिरहेको बताउनुभयो ।
कार्बन उत्सर्जनमा बढी योगदान गर्ने ठूला राष्ट्रहरूसँग सरकारले जलवायु न्यायका लागि संवाद गर्नुपर्नेमा जोड दिँदै सांसद झाले सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षतिपूर्तिका लागि आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले एकद्धार प्रणालीबाट भोटेकोशी बाढी पीडितलाई राहत पुर्याउन नसकेको भन्दै बाढीमा फसेकाहरूको खोज उद्धार र राहत वितरण प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिपक्षी दलहरू विपत्तिको समयमा सरकारसँगै रहेको भन्दै सांसद केसीले सरकारले अहिलेसम्म सर्वदलीय बैठक नबोलाउनु दुःखद भएको बताउनुभयो ।
बैठकमा नेकपा एमालेका सांसद डा पुष्पराज कँडेलले बाढीका कारण यातायात प्रणालीमा प्रत्यक्ष असर परेको भन्दै सरकारले तत्काल वैकल्पिक सडक मार्ग खुलाउनुपर्नेमा जोड दिनुभयो ।
हाम्रो यातायात प्रणालीलाई व्यवस्थित नबनाई मुलुकको अर्थतन्त्र अगाडि जान नसक्ने भन्दै सांसद कँडेलले चालु जलविद्युत आयोजनाहरूको पनि पुनरमूल्यांकन गर्नु सरकारलाई आग्रह गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले बाढी प्रभावित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर राहत वितरण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय हिमालय विपद् कोष स्थापना गरी हिमालयन क्षेत्रको अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै सांसद पुनले जोखिमयुक्त अवस्थामा सबै दलहरू एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी श्रमसंस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले जलवायु परिवर्तन हाम्रो देशका कारण नभए पनि पटक पटक क्षति चाहिँ नेपालले मात्रै सामना गर्नुपरेको भन्दै क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले अझै पनि रसुवाको सुरुङभित्र फँसेकाहरु जीवित रहेको भन्दै खोज उद्धारलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरु प्रकाशचन्द्र परियार, गङ्गादेवी श्रेष्ठ, परशुराम तामाङ, राधिका रम्तेल, धर्मराज केसी, जगदीश खरेल, लगायतले विनासकारी बाढीमा परेर अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्नुपर्ने, रसुवाको सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले देशिविदेशी विज्ञहरुको सहयोग लिएर टँनेलमा फसेकाको उद्धार गर्नुपर्ने, होल्डिङ सेन्टरमा रहेका महिला तथा किशोरीहरूको सुरक्षाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने भन्दै सांसदहरुले नियमितजस्तो आइरहने विपद्को सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र तयार रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसअघि बैठकको आकाश्मिक र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्