सकियो भक्तपुरको गाईजात्रा

ख्वप (भक्तपुर) । भैलद्य (बाँस, परालको सहायताले बनाइने गाईको प्रतीक) को परिक्रमाको समापनसँगै भक्तपुरको पहिलो दिनको गाईजात्रा सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिका–४ लैको लाकुलाछेंमा राखेर बनाइएको भैलद्यको परिक्रमासँगै पहिलो दिनको जात्रा समापन हुने परम्परा छ । जात्रालाई समयमै समापन गरी व्यवस्थित गर्ने उद्देश्यका साथ यो वर्ष तालिका बनाइ साँझ ४ बजेदेखि भैलद्यको परिक्रमा थालिएको थियो ।
भक्तपुरको गाईजात्राको विशेष आकर्षण भैलद्यको परिक्रमा नै हो । लाकुलाछेंबाट भैलद्यलाई न्यातापोल मन्दिर हुँदै नगर परिक्रमा थालिन्छ । यो क्रममा न्यातापोल मन्दिरमा विशेष भीड लाग्छ । यो भन्दा बढी भीड दरबार क्षेत्रमा लागेको हुन्छ । यहाँ भैलद्यसँंगै त्यसका पछाडिका ताहासा (गाईको प्रतीक) पनि रहने भएको र ठूलो क्षेत्रमा तीन चक्कर घुमाउने भएकाले यहाँको दृश्य निकै मनोमोहक हुने गर्दछ ।
यो वर्ष भैलद्यसँंगै कुल २० वटा ताहासाहरू रहेको भैरबनाथ जात्रा सहयोग समिति लैंको लाकुलाछें भक्तपुरका अध्यक्ष शिवराम किजूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष जस्तै भैलद्यलाई लाकुलाछेंबाट सुरु गरी भक्तपुर नगर परिक्रमा गराई लाकुलाछेंमै पुगेर समापन गरिन्छ । यसपछि जात्रा समापन हुने परम्परा रहेको उहाँले बताउनुभयो ।
योसँगै भक्तपुरको गाईजात्राको विशेष आकर्षण घिन्तान्गिसी नाच नाच हो । नगरका प्रत्येक व्यक्तिको मृत्युमा गाईको प्रतीक स्वरूप ताहासा बनाई त्यसको अगाडि बाजागाजाका साथ नाच नाच्नेहरू रहन्छन् । जोडी जोडीमा लठी जुधाएर घिन्तागिसी नाच नाचिन्छ । प्रत्येक ताहासासँंगै दर्जनौँ जोडी घिन्तागिसी नाचेर आएका हुन्छन् । यस हिसाबले बिहानदेखि रातिसम्म यस्ता सयौँ टोलीले पूरै भक्तपुर नगर घिन्तागिसी नाचमय बनेको थियो ।
एकजना जात्राप्रेमी स्वर्णिमा मुल यही कारण गाईजात्रामा दिनभर भक्तपुर नगर पूरै बाजागाजामय बन्ने बताउनुहुन्छ । जात्राको दिन पूरै भक्तपुर नाचेको महसुस हुने उहाँ बताउनुहुन्छ । जात्रामा एउटै टोलीमा पनि सयौँ नाचमा सहभागी हुने उहाँ बताउनुहुन्छ । पाँच–दस वर्षको बालबालिकादेखि ७० असी वर्षका बृद्धबृद्धासम्म नाचमा सहभागी हुने उहाँ बताउनुहुन्छ । यसका साथै बजारभरि हजारौँ मानिस जात्रा हेर्न बसको हुन्छन् ।
यसैबीच रसुवा बाढीबाट मृत्यु भएका भक्तपुरका सत्यसुन्दर प्रजापतिको गाई पनि शनिबार नै घुमाइएको छ । सामान्य रूपमा घिन्तागिसीको टोली नराखी प्रजापतिको गाई घुमाइएको हो । वर्षभरिमा मृत्यु भएका परिवारको घरबाट सुरु भई पूरै भक्तपुर बजार परिक्रमा गरी आफ्नै घरमा पुगेपछि जात्रा सम्पन्न हुने गर्दछ ।
आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्राको शनिबार दोस्रो दिन हो । भोलि आइतबारदेखि जात्रा अझै सात दिन चल्नेछ । तर जात्रा आज शनिवारको जस्तो दिनभर धूमधाम हुने भने छैन । अन्य दिनहरूमा साँझ साँझ व्यङ्ग्यात्मक गाईजात्रा हुने गर्दछ । यस क्रममा टोलटोलबाट व्यङ्ग्यात्मक प्लेकार्डहरू बोकेर घिन्तागिसी नाच निकालिन्छ । साथै यी दिनहरूमा टोलटोलबाट विभिन्न नाचहरू पनि प्रदर्शन गरिन्छ । रासस







प्रतिक्रिया राख्नुहोस्