रसुवा बाढीमा मधेशका १७४ व्यक्ति सम्पर्कविहीन
जनकपुरधाम । रसुवामा आएको बाढीमा परी मधेश प्रदेशका १ सय ७४ जना सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

परिवार तथा आफन्तले प्रहरीमा दिएको निवेदन र टेलिफोनमार्फत प्राप्त सूचनाका आधारमा उनीहरूको विवरण सङ्कलन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालका अनुसार रसुवामा सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सप्तरीका छन् । सप्तरीका ४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी पर्साका ३९, बाराका २३, रौतहटका १७, महोत्तरीका १७, सर्लाहीका १५, सिरहाका १० र धनुषाका ५ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए ।
केही व्यक्ति रसुवास्थित विभिन्न जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा कार्यरत रहेको प्रारम्भिक विवरणबाट खुलेको छ । यद्यपि, प्रहरीको पछिल्लो अद्यावधिक विवरणमा सम्पर्कविहीन सूचीमा रहेका केही व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा आइसकेको उल्लेख छ ।
पर्साका ज्ञानबहादुर थिङ, श्यामलाल मोक्तान र ओमजर अन्सारी सम्पर्कमा आएको प्रहरीले जनाएको छ । रौतहटका शेख कामिजल सहित केही व्यक्तिको पनि अवस्था खुलेको छ । त्यस्तै, सप्तरीका अजय हरिजन पनि सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ । अन्य जिल्लाबाट सम्पर्कविहीन भनेर जानकारी गराइएका केही व्यक्तिसँग समेत सम्पर्क स्थापित भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनको सूचीमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ का सरराज मियाँ, साहबुमिन अन्सारी, सरसाज मियाँ, समीर मियाँ र राहुल मियाँ लगायत छन् । पर्साकै विभिन्न स्थानका उमेश प्रसाद, वीर किशोर कुमार, रामचरण कुमार, विनय कुमार साह, सञ्जय साह सोनार, सुरज माझी, सागर मण्डल, सुनिल यादव, रिजवान अन्सारी, आरभ चौधरी, अशोक चौधरिया लगायतको नाम पनि सूचीमा समावेश छ ।
बाराबाट श्री निवास महतो धानुक, सुमित कुमार मण्डल र निरज कुमार कुशवाहा लगायत सम्पर्कविहीन छन् । रौतहटबाट विनोद भगत, अभिषेक गुप्ता, गौरव साह, शेख कामिजल, समीर चन्द्रौरी र शङ्करदेवी सहितका व्यक्तिको नाम विवरणमा छ ।
सप्तरीतर्फ सुरज चौधरी, रञ्जनदेवी चौधरी, मनीष कुमार मण्डल, धनञ्जय मण्डल, अजय कुमार यादव, हरिनारायण यादव, साजन चौधरी र बालेन्द्र चौधरी लगायतको नाम प्रहरीको सूचीमा छ ।
प्रहरीले भने सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका कारण कतिपय व्यक्ति परिवारको सम्पर्कमा आउन नसकेको हुनसक्ने प्रहरीको भनाइ छ ।
त्यसैले प्रारम्भिक विवरणका आधारमा तयार पारिएको सम्पर्कविहीनको सूचीमा संख्या थपघट हुन सक्ने भन्दै प्रहरीले परिवार तथा आफन्तबाट प्राप्त नयाँ सूचनाका आधारमा विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्