उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु, तीन घाइते
उदयपुर। उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बिहान सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को. १ प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुवैलाई चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्रबहादुर थापा मगर, सोही स्थानका करिब १८ वर्षीय रोशन मगर र विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन्। घाइतेमध्ये थापा र रोशनको अवस्था गम्भीर तथा गुरुङको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी (डिएसपी) गणेशबहादुर बमले जानकारी दिनुभयो। उनीहरू सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले बस र चालक ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्