प्रतिनिधि सभा बैठक: जनसरोकारका विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरूले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नुपरिरहेको सास्ती, अनलाइन ठगी र सुशासनलगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानुन संशोधनको माग गर्नुभयो ।
सांसदहरुले विपद्बाट जनधनको क्षति भइरहेको भन्दै समयमा तत्काल परिचालन हुन सक्ने बजेट र संयन्त्रको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
सांसदहरुले सरकारी अस्पतालमा बिरामीले भुईँमा बसेर उपचार गराउनुपर्ने अवस्था रहेको तथा पहुँचका आधारमा मात्र सेवा पाउने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न माग गर्नुभयो ।
सामान्य जनतालाई महँगीका कारण छाक टार्न गाह्रो भएको भन्दै सांसदहरुले उपभोग्य बस्तु, खाना पकाउने ग्याँस सहज रुपमा आम नागरिकसम्म पुर्याउन र महँगी नियन्त्रण गर्न माग गर्नुभयो ।

स्थानीय तहमा सडक, विद्यालयका डेस्क–बेन्च र पंखाजस्ता सामान्य पूर्वाधारको अभावले सर्वसाधारण र विद्यार्थीले सास्ती खेप्नुपरिरहेको, दुर्गममा औषधिको उपलब्धता सुनिश्चित हुन नसकेको लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग र अनलाइन ठगीका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले सामाजिक सञ्जालमार्फत सामान अर्डर गर्दा रकम लिएर सम्पर्कविहीन हुने अनलाइन स्टोरहरूलाई नियमन र कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।
सांसदहरुले देशैभरि ग्याँसको अभाव रहेकाले सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न तथा ग्यासको समस्याको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलो तर्फ लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले डोल्पा सडक मार्गबाट विच्छेद भएको र भेरी करिडोर अवरोध हुँदा खाद्यान्न लगायतको आपूर्तिमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गर्नुभयो ।
सांसदहरुले अविरल वर्षाका कारण सङ्खुवासभाको विभिन्न स्थानमा विद्युत् प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध भएका कारण स्थानीय जनता मारमा परेको तथा सञ्चार सेवाबाट वञ्चित हुन परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले पछिल्ला वर्षहरुमा सडक दुर्घटना परि मृत्यु हुनेको संख्या निक्कै बढ्दै गएको भन्दै सडक दुर्घटना न्युनिकरणका लागि समयमा नै ध्यान दिन माग गर्नुभयो ।
सांसदहरुले ठूलो बथानसहित भारतबाट नेपाल छिरेका जङ्गली हात्तीको कारण झापाका नागरिक प्रताडित बन्नु परिरहेको तथा हात्तीले जुनसुकै बेला आक्रमण गर्ने त्रास रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै जङ्गली हात्ती आतङ्क नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्