तपाईँ सुन्दै हुनुहुन्छः

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश डा.शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले स्वतन्त्र, निष्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गर्नुभयो । आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जबाफदेहिताको सफल अभ्यास गर्न उहाँले आग्रह गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन दशकदेखि निरन्तर काम गर्दै परिषद्ले न्याय समाजको मार्गदर्शकको रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा कानुन व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्रै नभएर व्यावसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । 

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष डा नारायणदत्त कँडेलले परिषद्को आत्ममूल्याङ्कनको दिनका रूपमा मनाइएको र आगामी दिनमा थप व्यावसायिक तथा  पारदर्शी तरिकाले काम गर्ने बताउनुभयो । 

उहाँले परिषद्को संरचना प्रदेशस्तरमा पनि विस्तार गर्ने उल्लेख गर्दै सक्षम र मर्यादित कानुन व्यवसायी बनाई विधिको शासनमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले पारदर्शी तरिकाले परिषद्ले काम गरेको भन्दै कानुनी व्यवसायीको हकहितका लागि बारले निरन्तर काम गर्ने बताउनुभयो । 

कार्यक्रममा ५० वर्ष वकालत गर्नुभएका कानुन व्यवसायी तथा परिषद्को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । 

परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालले कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । विसं २०५१ साउन २७ गते स्थापना भएको परिषद्मा २४ हजारभन्दा बढी कानुन व्यवसायी आवद्ध छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button