प्रहरी समायोजन चाँडो गर्न मधेशका मुख्यमन्त्रीद्वारा गृहमन्त्रीसँग आग्रह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय गृहमन्त्री सुदन गुरुङसँग आज भेटघाट गरेर प्रदेशको शान्ति सुरक्षा सहितको विविध पक्षहरूमा छलफल गर्नुभएको छ ।

गृह मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा पछिल्लो समयमा मधेशको शान्ति सुरक्षाको अवस्था सहितका अन्य समसामयिक विषयहरूमा छलफल भएको महेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जानकारी दिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले संविधानले प्रदान गरेको अधिकार अनुसार छिटो भन्दा छिटो प्रहरी समायोजन प्रक्रिया अगाडी बढाई दिनका लागि आग्रह गर्नुभएको छ । उहाँले जनकपुरधाममा सम्माननीय प्रधानमन्त्रीले चुनावको समयमा व्यक्त गर्नुभएको विचार अनुसार प्रादेशिक संरचनालाई बलियो बनाउनका लागि प्रहरी समायोजन सहितका अन्य कामकाज गरिदिनका लागि आग्रह गर्नुभएको छ ।
यसका साथै मधेश प्रदेशमा स्थिरता तथा विकासका लागि पनि निजामती सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयनका गर्न संघ सरकारले सहयोग गर्नुपर्ने विषयमा मुख्यमन्त्री यादवले गृहमन्त्री गुरुङसँग आग्रह गर्नुभएको छ ।
यस अघि मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेश सभाबाट पारित भएको मधेश प्रहरी ऐन तथा निजामती ऐन सहित प्रहरी समायोजनका लागि भएको प्रयास सहितका विषयमा जानकारी सहितको पत्रहरू गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
मधेश प्रदेश सरकारले प्रदेश प्रहरी भर्नाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब रकम विनियोजन गरेको गृहमन्त्री सुदन गुरुङलाई जानकारी गराएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री महतोले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
यसका साथै पछिल्लो समयमा प्रदेश सरकारले प्रहरी संरचनाहरूको सुदृढीकरणका लागि गरेको लगानी सहितका विषयमा गृहमन्त्रीलाई जानकारी दिने काम उहाँले जानकारी दिनुभयो । मधेश प्रदेश सभाको पहिलो कार्यकालमा नै प्रदेश प्रहरी ऐन तथा निजामती सम्बन्धि ऐन प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्