बडीमालिकामा भदौ १ देखि पूजा सुरु, मुख्य मेला ११ गते
बाजुरा। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि नै पूजाआजा सुरु हुने भएको छ। मुख्य पूजा भने भदौ ११ गते हुने मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिनुभयो।

मुख्य पूजाका दिन दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले भक्तजनको सहजताका लागि यस वर्ष करिब १० दिनअघिदेखि नै पूजाआजा सुरु गर्न लागिएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित ‘बडीमालिका–बुढीनन्दा मेला व्यवस्थापन’ सम्बन्धी सर्वपक्षीय छलफलका क्रममा पुजारी पाध्यायले सो कुरा बताउनुभएको हो।
हरेक वर्ष बडीमालिकाको मुख्य पूजामा बाजुरासहित देशका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट हजारौँ भक्तजन पुग्ने गर्छन्। गत वर्ष मात्रै करिब ४५ हजार दर्शनार्थीले बडीमालिकाको दर्शन गरेको तथ्याङ्क छ।

समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यताका कारण पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। २२ पाटन, त्रिवेणी, खेतीवेती, विष्णुपानी, धर्मद्वार तथा हिमशृंखलाको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
नेपाली सेनाले गत वर्ष करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरेपछि बडीमालिकाको आकर्षण थप बढेको छ। यसैबीच, मेला सुरु हुनुअघि नै बडीमालिका क्षेत्रमा टेलिकम टावर सञ्चालन गर्ने तयारी भइरहेको बडीमालिका नगरपालिकाले जनाएको छ।धार्मिक तथा पर्यटकीय महत्व बढ्दै गए पनि बडीमालिकामा सहज पैदलमार्ग, खानेपानी, शौचालय, धर्मशाला र बाटोका संकेतचिह्नको अभाव कायमै छ। कठिन र जोखिमपूर्ण यात्राका कारण दर्शनार्थीले हरेक वर्ष सास्ती खेप्नुपरेको भन्दै स्थानीयले बडीमालिकाको संरक्षण, पूर्वाधार विकास र मेला व्यवस्थापनमा राज्यको विशेष ध्यान जानुपर्ने माग गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्