अपाङ्गता भएका ४१ जनालाई पलिकाले दियो सहायता सामग्री
नवलपरासी-सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगरभित्रका ४१ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार ह्विलचेयर, ट्वाइलेट चेयर, वाकर तथा बैसाखीलगायतका सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख केशरी गैरेले जानकारी दिनुभयो।
नगर प्रमुख विमला अर्यालले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन प्रत्येक वर्ष बजेट विनियोजन गरी सहायता सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता र मागका आधारमा सामग्री उपलब्ध गराइँदै आएको उल्लेख गर्दै यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो।
“हाम्रो सानो सहयोगले उहाँहरूको दैनिक जीवन केही सहज होस् भन्ने उद्देश्यले आवश्यकताअनुसार सहायता सामग्री उपलब्ध गराउँदै आएका छौँ,” नगर प्रमुख अर्यालले भन्नुभयो। सीमित स्रोत–साधनका बीच पनि अपाङ्गता भएका नागरिकलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ छ।
नगरपालिकाले उपलब्ध गराएको सहायता सामग्रीले अरूको सहारामा जीवनयापन गरिरहेका अपाङ्गता भएका व्यक्तिको दैनिक क्रियाकलाप सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्