झापा गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु
झापा । झापाको झापा गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिक रुपमा आरम्भ गरेको छ ।

सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले अब मालपोत र नापीसम्बन्धी विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको आज एक समारोहका बीच भूमि प्रशासन सेवाको सुरुआत गर्नुभएको हो ।
कार्यवाहक अध्यक्ष थपलियाले स्थानीय सरकारमार्फत नै भूमि प्रशासन सेवा सञ्चालनमा आएको घोषणा गर्दै यसले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जामा विद्युतीय फोटो, औँठाछाप, दस्तखत तथा ‘ल्यान्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ (लिन) कायम भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा उपलब्ध गराइनेछ ।
यसका साथै अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व सङ्कलन लगायतका सेवासमेत गाउँपालिकाबाटै प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय र खर्च बचत हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्