तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्वारा सद्भाव कायम गर्न अपिल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गर्नुभएको छ । 

उहाँले आज एक सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचार प्रभावकारी रूपमा होस् भन्ने अपेक्षा गर्नुभएको छ ।  

“नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो”, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु ।” 

उपराष्ट्रपति यादवले कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग संयमित ढङ्गले प्रस्तुत गर्न सबै पक्ष जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध गर्नुभएको छ । 

उहाँले स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता अग्रसर हुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button