तपाईँ सुन्दै हुनुहुन्छः

नेता श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक मनाउने निर्णय

काठमाडौँ। नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा ७९ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार (साउन १२ गते) निधन भएको उल्लेख छ। उहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति हुनुहुन्थ्यो। उहाँ १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एकसमेत हुनुहुन्थ्यो।

कांग्रेस केन्द्रीय कार्यसमितिले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ। पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा उहाँले करिब छ वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो।

वि.सं. २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो।

श्रेष्ठले नेपाल सरकारको उपप्रधानमन्त्रीसँगै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। उहाँ नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत हुनुहुन्थ्यो।

वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मनुभएका श्रेष्ठको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको आस्था र सार्वजनिक जीवनमा पुर्‍याएको योगदान उच्च सम्मानयोग्य रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले श्रेष्ठको निधनबाट पार्टीले एक अग्रज र अनुभवी राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै उहाँको संगठन निर्माण र सुदृढीकरणमा पुर्‍याएको योगदान तथा नेतृत्वदायी भूमिकालाई पार्टी इतिहासले सधैँ स्मरण गर्ने जनाएको छ।

कांग्रेसले शोकस्वरूप साउन १३, १४ र १५ गते तीन दिन पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। त्यस्तै, साउन १४ गते बिहीबार केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ।

श्रेष्ठको १३औँ दिनको पुण्यतिथिमा गृह जिल्ला स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button